यसपटक सशक्त र प्रभावकारी आन्दोलनको आवश्यकता

अग्नि सापकोटा
देशलाई गम्भीर मुठभेडको स्थितितिर धकेल्ने गम्भीर षड्यन्त्र हुँदैछ र पुराना संसदीय पार्टीहरू घोर अराजनीतिक र अनैतिक ढंगले प्रस्तुत हुन थालेका छन् । राष्ट्रिय स्वाधीनताको रक्षाको सवाल झनझन संवेदनशील हुँदै गइरहेको छ । सत्तारुढ पार्टीका नेताहरू बृहत शान्तिसम्झौता, अन्तरिम संविधान र सम्पूर्ण सहमति र समझदारी विपरीत उग्र अभिव्यक्ति दिन थालेका छन् ।
वैदेशिक शक्तिकेन्द्रको गुरुयोजनामा निर्मित कठपुतली सरकारका मन्त्रीहरू शाहीकालीन मन्त्रीहरूभन्दा पनि तल्लोस्तरमा उत्रेर देश र जनताका विरुद्ध बोल्न थालेका छन् । रक्षामन्त्री नेपाली सेनालाई भड्काउने काममा ज्यान छोडेर लागेकी छन् भने उपप्रधानमन्त्री गच्छेदार सेना परिचालनको धम्की दिन थालेका छन् । कथित सरकारका प्रवक्ता नेपाली सेना लडाइँका लागि सक्षम छ भन्ने अभिव्यक्ति दिइरहेका छन् ।

नेपालको शान्तिप्रक्रियामा सहयोग गरिरहेको संयुक्त राष्ट्रसंघ र अनमिनको सकारात्मक र सदासययुक्त सल्लाहलाई योजनाबद्ध र अतिरञ्जित ढंगले दुष्प्रचार गर्ने क्रम सुरु भएको छ । कतिपय वैदेशिक शक्तिकेन्द्रलाई अनमिनको उपस्थिति सहृय भइरहेको छैन । अन्तर्राष्ट्रिय पर्यवेक्षणको स्थिति रहँदासम्म हस्तक्षेप र चलखेल अन्तर्राष्ट्रियजगतमा निरन्तर प्रवाहित भइरहने भयले संयुक्त राष्ट्रसंघ र अनमिनको विरोध भइरहेको छ । कुनै देश विशेषको राजदुतको निर्देशनमा चल्ने पार्टीहरूले संयुक्त राष्ट्रसंघले आन्तरिक मामलामा हस्तक्षेप गर्‍यो भन्ने जस्ता हास्यास्पद कुरा गरिरहेका छन् ।

राष्ट्रिय आत्मसमर्पणको दलदलमा डुबेका पार्टीहरूले हस्तक्षेपको कुरा गर्नु आफैमा एउटा मजाक भएको छ । सत्तारुढ पार्टी र कथित सरकारका मन्त्रीहरूको अभिव्यक्ति प्रायोजित, निर्देशित र दुरासययुक्त रहेको छ । जसले परिस्थितिलाई तरङ्गति बनाइरहेको छ ।
एमाले पार्टीका उपाध्यक्ष अशोक राई भन्नुहुन्छ,’कांग्रेसका नेताहरूले संविधानसभा विघटन गराउने प्रस्ताव एमालेसमक्ष ल्याएका थिए । कहिले नारायणमान बिजुक्छेका मुखबाट राष्ट्रपति शासनको हल्ला चलाएर त कहिले विद्या भण्डारी र विजय गच्छेदारजस्ता मान्छेहरूबाट धम्कीको भाषा बोल्न लगाएर देशी-विदेशी प्रतिक्रियावादीहरूले नेपाली जनताको नारी छाम्ने कोसिस गरिरहेका छन् ।

वाइस दलको हौवा पिट्दै एउटा आतंक श्रृष्टि गर्ने कोसिस भइरहेको छ । सूर्यबहादुर थापा र पशुपति शम्शेर जस्ता कुख्यात पञ्चहरू अहिले सत्तारुढ दलका प्रवक्ता हुन पुगेका छन् । सूर्यबहादुर थापा दिल्ली भ्रमणबाट फर्केपछि नयाँ गतिविधिहरू सुरु भएका छन् । एकीकृत माओवादीले अगाडि सारेको शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउने, संविधानमा निर्माण, नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनताको रक्षा र राष्ट्रिय संयुक्त सरकारको एजेण्डामा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत समर्थन बढ्दै जाने क्रममा देशीविदेशी प्रतिक्रियावादीहरू अत्तालिन थालेका छन् ।

खासगरी भारतीय विस्तारवादी शासकवर्गको कट्टरपन्थी हिस्सा अत्यन्त नाङ्गो ढंगले नेपालको आन्तरिक मामलामा दख्खल दिन उद्दत भएको छ । भारतभित्रै माओवादी आन्दोलन चर्कदै जाँदा आधारहीन, कपोलकल्पित आरोपमा भारतका नोकरशाहहरू उत्रेका छन् । नेपालका माओवादीले भारतका माओवादीलाई हतियार दिएका छन् भन्नेसम्मको निराधार आरोप हाम्रै देशमा आएर कति पनि अप्ठ्यारो नमानिकन कृत्रिम षडयन्त्रमूलक बकवास भारतीय गृहसचिवले गरेको छ । यो अत्यन्त तल्लोस्तरको हेपाहा नीतिको अर्को निकृष्ट नमूना हो । सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्न तीव्र दवाव दिइरहेका छन । भारत नेपाललाई अन्य देशका विरुद्ध प्रयोग गर्न चाहन्छ । अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्ने बहाना बनाएर राखेको सेनालाई विस्तार गर्न चाहन्छ । नेपालमा फौजी अखडा कायम गर्ने लक्ष्य पूरा गर्न खोज्दै छ । सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्न भारतले तीव्र दवाव दिइरहेको छ ।

यतिखेर देशीविदेशी प्रतिक्रियावादीहरू एकीकृत नेकपा माओवादीलाई एक्ल्याउने र दमन गर्ने षडयन्त्रमा तल्लीन भएका छन् । यसको सुरुआत वैदेशिक शक्तिकेन्द्रहरूले पार्टीहरूलाई कमजोर बनाउने र अस्तित्व समाप्त पार्ने योजनाबाट गर्न थालेका छन् । अहिले नेपालका हरेक संसदीय पार्टीहरूमा अन्तरकलह र अन्तरविरोधको स्थिति श्रृजना गरिरहेका छन् । देशभक्तहरूलाई बदनाम गर्न र कमजोर पार्न आत्मसमर्पणवादीहरूलाई दलाल बनाउने कार्य तीव्र रूपमा अगाडि सारेका छन् ।

आफैले सहमति गरेका समझदारी उल्लंघन गर्ने कार्यको उत्कर्षको रूपमा राष्ट्रपतिले अन्तरिम संविधानको भावना र मर्ममाथि नै प्रहार गर्दै जननिर्वाचित सरकारले कारबाही गरेकोे सैन्य अधिकृतलाई थमौती गरेको कदम थियो । सबभन्दा पहिले सत्ता कब्जाको हौवा फिंजाएर देशलाई युद्धमा धकेल्न षड्यन्त्र गरियो । फेरि पटक-पटक देशलाई युद्धमा धकेल्ने खालका निर्णयहरू कठपुतली सरकारबाट भइरहेका छन् । चाहे सुरक्षा योजनाको कुरा होस्, चाहे स्थानीय निकायसम्बन्धी कुरा होस्, कठपुतली सरकारका निर्णयहरू मुठभेड निम्त्याउने खालका देखिएका छन ।

भरखरै कठपुतली सरकारका प्रवक्ता शंकर पोखरेलले भनेका छन,जनदवावलाई मात्र होइन आफ्ना सेनालाई सार्वजनिक रूपमा भिडन्तमा ल्याए भने पनि सामना गर्ने क्षमता सरकारसँग छ ।उनको यस भनाइभित्र अहिलेको कठपुतली सरकारको आशय मात्र झल्कदैन देशी विदेशी प्रतिक्रियावादीहरूको अरु योजनाको स्पष्ट संकेत देखा पर्दछ । अहिले जनमुक्ति सेना अत्यन्त अनुशासित ढंगले शान्तिप्रक्रियालाई सहयोग गरिरहेको छ । कहाँबाट आयो सार्वजनिक रूपमा भिडन्तको कुरा ? त्यसकारण अहिले पर्दा पछाडिबाट पर्दा अगाडि रहेको माधव नेपालको जत्थालाई सञ्चालन गर्ने अर्को शक्ति रहेको छ ।

एकीकृत माओवादीले देशैभरि आन्तरिक प्रशिक्षण र बाहृय जनसभाका माध्यमबाट जनतासँग प्रत्यक्ष रूपमा अन्तरक्रिया, छलफल, बहस गरेर सल्लाह र सुझावहरू संकलन गरेको थियो । आम जनसमुदाय, नागरिक समाज सबैले एकै स्वरमा शान्ति र संविधान निर्माणको नेतृत्व एकीकृत माओवादीले मात्र गर्न सक्छ र गर्नु पर्दछ भन्ने गरेका छन् । जनताको जनादेश बेगर बनाएको सरकारलाई देशव्यापी रूपमा जनपरिचालन गरेर विस्थापित गरिनु पर्दछ र जनताको चाहनाअनुसारको राष्ट्रिय संयुक्त सरकारको निर्माण गरिनु पर्दछ भन्ने जनमत रहेको छ ।

जनताको इच्छा, आकांक्षा र भावनाको उच्च सम्मान र प्रतिनिधित्व गर्दै एकीकृत माओवादीले अहिले दोस्रो चरणको कार्यक्रम व्यापक जनपरिचालनसहित सञ्चालन गरिरहेको छ । संयुक्त राष्ट्रिय जनआन्दोलनको नाममा सञ्चालित आन्दोलन पराम्परागत ढाँचा र शैलीभन्दा फरक ढंगले एउटा उत्सवको रूपमा सञ्चालन भइरहेको छ । सकेसम्म जनतालाई मर्का नपर्ने खालका आन्दोलनका कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

मशाल जुलुसबाट सुरु भएको दोस्रो चरणको आन्दोलन गाविस र नगरपालिका घेराउ हुँदै जिल्ला प्रशासन कार्यालयमा कामकाज ठप्प गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरू भव्य र सानदार ढंगले सम्पन्न भएका छन् । यस बीचमा स्वायत्त गणराज्य घोषण गर्ने कार्यक्रम स्थगित गरिएको छ । नाकाबन्दी र २६ र २७ गतेको कार्यक्रमलाई अझ सशक्त र प्रभावकारी बनाउन सबै तयारी त्यसैमा केन्द्रित गर्नका लागि र थप गृहकार्यको जरुरी भएकोले उपरोक्त कार्यक्रम स्थगित गरिएको हो ।

हवाई नाकाबन्दी सम्पूर्ण पर्यटन व्यवसायी, नागरिक समाज र कुटनीतिक नियोगका पदाधिकारीहरू समेतको आग्रहमा स्थगित गरिएको हो । जनता चालु आन्दोलनमा अत्यन्त उत्साहका साथ सहभागी भइरहेका छन् । शालीन, भद्र र उल्लासमय वातावरणमा सम्पन्न भएका कार्यक्रमहरूले राष्ट्रिय रूपमा मात्र होइन अन्तर्राष्ट्रिय रूपमा समेत गहिरो प्रभाव पारेको छ । तर केही भ्रष्ट र निर्देशित शक्तिहरूलाई भने अत्यन्त ठूलो छटपटि भएको छ ।

देशीविदेशी प्रतिक्रियावादीहरूको अपेक्षा विपरीत जनताको आवाज आन्दोलनमार्फत मुखरित भइरहेको छ । कतिपय युद्ध पिपासुहरूले चालु शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन खोजेका थिए तर त्यसो हुननसकेपछि आन्दोलन नाचगान र हँसीमजाकमा सकिदै छ भन्ने तल्लो स्तरको टिप्पणी गरेका छन् । यद्यपि अहिले आन्दोलनले पुरानो ढंगलाई बदलेको छ आन्दोलनमा भाग लिन मानिसहरू दिलैदेखि खुशी भएर आएका छन् । अब नेपाली- नेपाली बीचको वैरभाव मेट्नु पर्दछ, अब नेपाली-नेपाली बीचमा मारकाटको स्थिति आउन दिनु हुँदैन त्यसैले सबै नेपालीहरू मिलेर हामीलाई फुटाएर आफ्नो स्वार्थपूर्ति गर्न खोज्ने विस्तारवादी र साम्राज्यवादीहरूका विरुद्ध आन्दोलन परिलक्षित हुनुपर्दछ भन्ने भावना नेपालीहरूमा प्रबल हुँदैछ ।

कठपुतली सरकारका मन्त्रीहरूले सुरक्षा निकायहरूका सवै अंग परिचालन हुनसक्दछन् भन्ने जतिसुकै धक्कु लगाए पनि तिनीहरूको आदेश जस्ताको जस्तै मान्न ती निकायहरू तयार छैनन् । नेपाली जनतालाई एकीकृत गर्ने एउटा मौलिक विचार, मौलिक विधि र चेतनाको विकास भइरहेको छ । मानव जातिले आजसम्म आर्जन गरेको सर्वोच्च संश्लेषण २१औं शताब्दीको पहिलो दशकमा नेपालमा आएर भएको छ । यही नयाँ विचार र नयाँ विधिमा आधारित नितान्त मौलिक प्रकारको आन्दोलन नेपालमा विकसित हुँदैछ ।

तर वैदेशिक शक्तिकेन्द्रहरूको निर्देशनमा निर्मित र सञ्चालित कठपुतली सरकारले चालु आन्दोलनको गहनता, असर र प्रभावको बोध गर्न सकेको छैन । संसदीय पार्टीहरू रूपान्तरणका लागि तयार छैनन भन्ने कुरा उनीहरूका पछिल्ला अभिव्यक्तिहरूले स्पष्ट पारेका छन् । यस्तो स्थितिमा आन्दोलनलाई अझ व्यापक, व्यवस्थित, सशक्त र प्रभावकारी बनाउनु अनिवार्य भएको छ । आन्दोलनमा राष्ट्रिय जीवनका हरेक पक्ष अत्यन्त उत्साहका साथ सहभागी हुन इच्छुक देखिएका छन् ।

नागरिक समाज सरकारका पछिल्ला क्रियाकलापले थप आक्रोशित भएको छ । नागरिक समाजका अगुवाहरू राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि खुलेर अगाडि आएका छन् । सम्पूर्ण, देशभक्त, वामपन्थी र गणतन्त्रवादी शक्तिहरू एकजुट हुने एउटा ऐतिहासिक अवसर आएको अनुभूति सर्वत्र भइरहेको छ । देशीविदेशी प्रतिक्रियावादीहरूको उल्टो गङ्गा बगाउन खोज्ने कुबुद्धिले पनि यो स्थिति पैदा गर्न सहायक भूमिका खेलिरहेको छ ।

त्यसैले आउनुहोस् देशीविदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्रको भण्डाफोर गर्दै अगाडि बढौं, २६ र २७ गतेको सिंहदरबार घेराऊ कार्यक्रम लाखौंलाख जनसमुदायको सहभागितामा सशक्त ढंगले सञ्चालन गरौं । शान्ति र परिवर्तनका पक्षधरहरूको एकताबद्ध र सशक्त पहलकदमीले मात्र जनताको संघीय गणतन्त्रको स्थापना हुन सक्दछ ।

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

टिप्पणी छोड्नुहोस्