आदिवासी महोत्सवमा एकैदिन पाँच चलचित्र प्रदर्शन

चितवनको नारायणगढमा जारी अन्तरराष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव-२०६६ मा एकै दिन पाँच वटा चलचित्र प्रदर्शन गरिएको छ ।चितवनमा पहिलोपटक आयोजित सो महोत्सवमा शुक्रबार बिहानदेखि साँझसम्म गरी आदिवासी जनजातिको रहन सहन सम्बन्धी पाँचवटा चलचित्र प्रदर्शन गरिएको हो । तामाङ चलचित्र सङ्घको आयोजनामा हिजोदेखि सुरु भएको महोत्सव आज साँझसम्म चल्ने छ ।नारायणगढको नारायणी कला मन्दिरमा भइरहेको महोत्सवको पहिलो दिन हिजो बोलिभियामा संविधानसभाका बेला आदिवासीहरूले गरेको आन्दोलनको विषयलाई समेटिएको चलचित्र विल्डीङ्ग डिग्निटी, शिक्षा क्षेत्रमा तामाङहरुले गरेको सङ्घर्षको विषयमा आधारित चलचित्र गोदेवा, वोटे र माझीको रहनसहनमा आधारित चलचित्र लिभिङ्ग वाई द रिभर र थारु समुदायसँग सम्बन्धित चलचित्र भूयार प्रदर्शन गरिएको थियो ।

यस्तै आज सुनुवार जातिको महान चाडको विषयमा तयार पारिएको चलचित्र स्याँटर, कुमालेको पेशासँग आधारित ग्वे मरु यस्तै आदिवासीसँग सम्बन्धित बराही पुत्र, उनीहरुले आफ्नो अधिकार खोज्दा गरेको सङ्घर्ष समेटिएको चलचित्र दि लङ्ग जर्नी र लाहुरे परम्परासँग सम्बन्धी तिनागा चलचित्र प्रदर्शन गरिंदै छ ।चलचित्र हेर्नका लागि विद्यार्थीलाई रु. ३० तथा अन्य दर्शकका लागि रु. ५० को टिकटको व्यवस्था गरिएको छ ।

आदिवासीहरूलाई अधिकारको विषयमा जागरण पैदा गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताइएको छ ।यसअघि राजधानीमा बढी सिमित रहेको आदिवासी चलचित्र महोत्सव यसै वर्षदेखि मोफसलका जिल्लाहरुमा पनि आयोजना गर्न सुरु गरिएको आयोजकले जनाएको छ ।
यसवर्ष विभिन्न छ वटा जिल्लामा महोत्सव आयोजना गर्ने लक्ष्य राखिएको छ ।
यसअघि काठमाडौँ र धरानमा आदिवासी चलचित्र महोत्सव सञ्चालन भइसकेको छ ।

Posted in BLOG NEWS. ट्यागहरु: . Leave a Comment »

टिप्पणी छोड्नुहोस्